नेपालको नामैँ लिएर पाकिस्तानले भारतलाई दियो यस्तो कडा धम्की

सूचना दैनिक
शुक्रबार, असार ५, २०७७

 

काठमाडौं । भारत–चीनबीच भएको तनावलाई लिएर पाकिस्तानले पनि बयान जारी गरेको छ । २० भारतीय सैनिकले ज्यान गुमाएपछि पाकिस्तानले आफ्नो धारणा बुधवार जारी गरेको हो ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले मंगलबार चीनसँगको सीमामा तनाव हुँदा २० भारतीय सैनिकको मृत्यु भएपछि भारत र चीनबीचको अवस्थालाई आफुहरुले ‘कडा निगरानी’ गरिरहेको जानकारी दिए ।

पाकिस्तानको जियो न्यूज कार्यक्रम ‘आज शहाजेब खानजादासँग’ मा बोल्दै कुरेशीले लद्दाख क्षेत्रमा भइरहेको तनावको जिम्मेवार भारत भएको आरोप पनि लगाएका छन् । उनले विवादित क्षेत्रमा भारतले सडक निर्माण गर्न खोजेर तनाव सिर्जना गरेको आरोप लगाएका हुन् ।

कुरैशीले चीनले वार्तामार्फत समाधान खोजेको भए पनि भारतको अहङकारको नतिजा २० सैनिक गुमाउनु परेको बताएका छन् । भारतले विवादित क्षेत्रमा जबरजस्ती अतिक्रमण गरेर सडक बनाउन खोजेपछि समस्या उत्पन्न भएको आरोप भारतमाथि लगाएका छन् ।

उनले कश्मीरका बारेमा पनि कुरा गरेका छन् । उनका अनुसार भारतले भारत–पाकिस्तानको नियन्त्रण रेखा (एलओसी) आसपास हमला गरेर कश्मीरीहरूको ज्यान लिइरहेको आरोप पनि लगाए ।

पाकिस्तानका विदेशमन्त्रीले आफुहरु नेपालका बारेमा पनि जानकार रहेको बताएका छन् । भारतले अहिले रणनीतिक क्षेत्रीय सम्बन्ध बिघटन गर्दै पाकिस्तान, चीन र नेपालसँग उल्झिएको आरोप लगाए ।

अर्को तिर नागरिकता संशोधन कानुनले बंगलादेशलाई ठेस पुर्याएको बताएका छन् । श्रीलंकासँग पनि भारतको विवाद रहेको उनले जानकारी गराएका छन् ।

कुरैशीले धेरैलाई भारतको विदेश नीतिको बारेमा उत्सुकता थियो तर यो देश हेर्दाहेर्दै एक्लो भएको छ भनेका छन् । भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को फोरम खारेज गरिसकेको पनि उनको आरोप छ ।

उनका अनुसार अहिले कुनै पनि छिमेकीसँग भारतको राम्रो सम्बन्ध छैन । यसको कारण नरेन्द्र मोदीको हिन्दुत्व सोचको नाटक भएको बताउँदै यसले सही जवाफ पाउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।