फोक्सोको क्यान्सर हुँदा पनि ७० नाघेका वृद्ध दम्पतीले जिते कोरोनालाई शेयर गर्दै बधाई दिनुहोस्..

सूचना दैनिक
शुक्रबार, असार ५, २०७७

चितवन, ५ असार । भरतपुर महानगरपालिका ६ केसरबागका कोरोना संक्रमित वृद्ध दम्पती निको भएर आज (शुक्रबार) घर फर्किएका छन् । कोरोना जितेका वृद्ध दम्पती ७४ वर्षका पुरुष र ७३ वर्षकी महिला हुन् । ७४ वर्षीय वृद्ध फोक्सोको क्यान्सरबाट पीडित थिए । उनीहरु संक्रमण पुष्टि भएको २९ दिनमा निको भएर घर फर्किएका हुन् ।

घर फर्किने क्रममा आफ्नो अनुभव सुनाउँदै कोरोना जितेका ७४ वर्षीय पुरुषले आत्मबल बलियो बनाएकै कारण कोरोनाविरुद्धको लडाइँ जितेको बताए । उनले कोरोनासँगको संघर्षमा आफू विजयी भएको भन्दै खुशी व्यक्त गरे । ‘यो उमेरमा आएर पनि मैले क्यान्सर र कोरोनासँग लडेँ,’ उनले भने, ‘आज कोरोनासँगको सँघर्षमा पनि बिजयी भएको छु ।’

वृद्ध अनि क्यान्सरजस्ताे राेग भएर पनि काेराेना जितेका उनले अन्य संक्रमितहरुलाई पनि आत्मबल बलियो बनाउन आग्रह गरे । उनी भारतबाट फोक्सोको क्यान्सरको उपचार गराएर फर्किएका हुन् ।

यस्तै वृद्ध दम्पतीले अस्पताललाई गुणस्तरीय सेवा दिएको भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् । चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुले नम्र व्यवहार गर्दै सेवा दिएको उनले बताए । ‘अस्पतालको सबै टिमले हामीलाई निको हुन ठुलो सहयोग गर्नुभयो,’ ती वृद्धले भने, ‘सबैलाई मनैदेखी धन्यवाद दिन चाहन्छु ।’

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले संक्रमित वृद्ध दम्पतिले आत्मबल बलियो बनाएकोले पनि सजिलै कोरोनालाई पराजित गरेको बताए ।

जेष्ठ ३ गते भारतबाट आएका वृद्ध दम्पती र उनीहरुका छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा क्यान्सरको उपचार गराएर आएका ७४ वर्षीय पुरुष र उनीसँगै गएका श्रीमती तथा छोराको जेष्ठ ८ गते स्वाब संकलन गरी भरतपुर कोभिड १९ प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो । ९ गते भरतपुर अस्पतालले दुई जना (श्रीमान, श्रीमती) मा संक्रमण पुष्टि गर्यो । छोराको रिपोर्ट भने नेगेटिभ आयो । छोराको पहिलाे रिपोर्ट नेगेटिभ आए पनि शंकास्पद देखिएपछि पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमित छोरा भने यसअघि नै निको भएर घर फर्किसकेका छन् ।