चिनियाँ भन्छन्,’घाइते भारतीय सैनिकको उपचार चीनमा गरौं’

सूचना दैनिक
शनिबार, असार ६, २०७७

काठमाडौं । चिनियाँ सेनाको कब्जामा रहेका १० भारतीय सैनिकलाई छाडेको भारतीय सञ्चार माध्यमले बताएका छन्।

गल्वान भ्यालीमा भएको हिंस्रक संघर्षकाबेला उनीहरुलाई नियन्त्रणमा लिइएको थियो।

मेजर जनरल स्तरमा भएको वार्ता पछि भारतीय सैनिकलाई छाडिएको हो। चीनले कब्जामुक्त गरेका १० सैनिकमा एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजर पनि सामिल थिए।

भारतीय दैनिक द हिन्दुका अनुसार चीनले भारतीय सैनिकलाई हिजो साँझ ५ बजे छाडेको हो।

भारतीय सेनाले यसअघी एक विज्ञप्ति जारी गर्दै कुनै सैनिक बेपत्ता नरहेको भन्दै आफ्ना सैनिकहरू चीनले बन्धक बनाएको कुरा लुकाएको थियो।

सोमबार राति भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। ७८ भन्दा बढि सैनिक घाइते छन्। उनीहरुको उपचार भइरहेको बताइएको छ।

चीनले बिहिबार कब्जामा रहेका १० सैनिकलाई मुक्त गरेपछि चिनियाँ एक सरकारी पत्रिकाका सम्पादकले घाइतेहरुको उपचार चीनमा गरिनुपर्थ्यो भन्दै ट्विट गरेका छन्।

यसअघि झडपमा घाइते रहेका सैनिकको भारतले समयमै उद्धार र उपचार नगर्दा मृत्यु भएको उनको भनाई छ। यसबाट भारतले आफ्ना सेनामा गरेको लगानी निकै कमजोर रहेको उनको टिप्पणी छ।

हु छिजिनले लेखेका छन्, ‘ती १० भारतीय सैनिकहरुलाई राम्रो व्यवहार गरि चीनमै उपचार गर्नुपर्थ्यो। यसअघि हिउको चिसोले मरेका १७ भारतीयहरू भन्दा यिनीहरु भाग्यशाली हुन्थे। वास्तवमा अधिकांश भारतीय सैनिक भारतीय सेनाको कमजोर बन्दोबस्तीका कारण मरेका हुन्। यसमा चीनलाई दोष दिनु हुँदैन।’