सशस्त्र प्रहरी बलले उत्तरी सीमामा आफ्नो उपस्थिती तीब्र पारेको छ ।

सूचना दैनिक
आइतवार, असार ७, २०७७

काठमाडौ, ६ असार । सशस्त्र प्रहरी बलले उत्तरी सीमामा आफ्नो उपस्थिती तीब्र पारेको छ ।चीन जोडिएको हुम्लाको हिल्सा नाका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ। समुद्री सतहबाट तीन हजार चार सय ४० मिटर उचाईमा रहेको हिल्सामा बीओपी स्थापना भएको हो

त्यहाँ स्थापित बीओपीको शनिबार मात्रै उद्घाटन भएको छ। हुम्लास्थित ४४ नम्बर गुल्मले हिल्सामा इन्सपेक्टरको कमाण्डमा २३ जना खटाएका हुन् । मानसरोवर जाने एक मात्र मार्ग हिल्सा नाका हो । सशस्त्र प्रहरी बिओपी पोष्ट भाडाको घरमा स्थापना गरिएको हो ।

दुबई बाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड बिमान उडेको छ । १ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज केहीबेरअघि उडेको हो ।

आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ ।

फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् । गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् ।

आज उडेको विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

आज विभिन्न देशबाट चार सय १४ जना नेपाली स्वदेश फर्किएका छन् । कुवेतबाट जजिरा एअरमार्फत एक सय ५० जना, ओमानबाट सलाम एअरमार्फत एक सय ४६ जना, दोहाबाट कतार एअरमार्फत एक जना र मलेसियाबाट हिमालय एअरमार्फत एक सय १७ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यसैगरी आज नेपालबाट चार वटा हवाइजहाज विभिन्न देशमा गएका छन् । त्रिभुवन विमानस्थलका अनुसार १५ जना नेपाली र एक जना विदेशी लिएर हिमालय एअर मलेसिया गएको छ । १३ जना बालबालिकासहित दुई सय ६३ जना यात्रु लिएर कतार एअर दोहा गएको छ । चार जना विदेशी लिएर हिमालय एअर दमाम र नेपाल एअरलाइन्सको जहाज यात्रु विना नै दुबई गएको छ । यस्तै आन्तरिकतर्फ तारा, सीता, एअर डाइनेस्टी, बुद्ध र मनाङ एअरले ६ वटा उडान गरेका छन् ।