अब भारतीयले हामीलाई छोरी दिँदैनन् : जसपा नेता

सूचना दैनिक
मङ्लबार, असार ९, २०७७

काठमाडौं : संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अघि बढाएपछि जनता समाजवादी पार्टीका नेताहरू आक्रोशित भएका छन्। सत्तापक्षले पेलेर अघि बढ्न खोजेको र कानुन परिवर्तनमा चित्तबुझ्दो कारण दिन नसकेको भन्दै उनीहरूले सदन र सडकमा आन्दोलन गर्ने चेतावनी नै दिएका छन्।

जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले नागरिकतासम्बन्धी प्रचलित कानुनमा परिवर्तन गर्न जरुरी नै नभएको बताए। ‘यसले मधेशको संस्कृति, हिन्दु रीतिरिवाज र नेपाल-भारत सम्बन्धमाथि ठूलो प्रहार भएको छ,’ कर्णले थाहा खबरसँग भने, ‘विवाह भएर आएपछि महिलाको कूल र गोत्र परिवर्तन हुन्छ, सनातनदेखि चलिआएको यो व्यवस्था तोड्न किन जरुरी पर्‍यो? चित्तबुझ्दो कारण चाहियो नि!’

भारतीय सीमा क्षेत्रका सबै ठाउँमा नेपाली र भारतीयबीच विवाह हुने गरेको भन्दै उनले अब ठूलो समस्या आउनसक्ने संकेत गरे। ‘नागरिकता नै नपाउने भएपछि अब भारतीयले जानीजानी किन नेपालीलाई छोरी दिन्छन्?’ कर्णले प्रतिप्रश्न गरे, ‘सीमा क्षेत्रमा यसले ठूलो समस्या निम्तिन सक्छ।’

संसदीय समितिबाट झिनो मतले यो विधेयक अघि बढेको भन्दै संसदमा आफ्ना कुरा राख्ने उनले बताए। संसदमा पनि सत्तारुढ नेकपाको बहुमत भएकाले यो विधेयक समितिकै प्रतिवेदनका आधारमा जस्ताको तस्तै पारित हुनेछ। पेलेरै जाने रणनीतिमा सत्तापक्ष देखिए आफूहरू सडक आन्दोलनमा जान बाध्य हुने कर्ण चेतावनी दिन्छन्‌।

​झण्डै दुई वर्षअघि संसदमा दर्ता भएको नागरिकता ऐन, २०६३ लाई संसोधन गर्न बनेको विधेयकमा सहमति जुट्न नसकेपछि राज्यव्यवस्था तथा सुशासन समितिमा अड्किएको थियो। अंगीकृत नागरिकताका विषयमा सत्तारुढ नेकपाकै सांसदहरूको पनि एकमत नभएपछि सचिवालय बैठक नै बसेर ७ वर्षे प्रावधान राख्ने निर्णय गरेको हो।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत रहेका जसपाकै अर्का नेता राजकिशोर यादवले विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिन ७ वर्ष कुराउनुको औचित्य पुष्टि नहुने बताए। ‘पहिला विवाह गर्नासाथ नागरिकता दिँदा कहाँ-कहाँ कस्तो राष्ट्रघाती काम भयो? अब ७ वर्ष कुराएर दिँदा चाहिँ राष्ट्रघात हुन सक्दैन भन्ने के ग्यारेन्टी छ?’ यादवले थाहा खबरसँग भने, ‘त्यसैले विना अध्ययन र तथ्यभन्दा बाहिर गएर गरिएको यस्तो निर्णय व्यवहारिक छैन, ७ वर्ष नै कुराउनुपर्ने कारण के हो ? जनतालाई स्पष्ट पार्नुपर्छ।’