नेपालमा कोरोनाभाइरसका संक्रमित थपिएसँगै धनुषाको मिथिला नगरपालिका- ९ का ४७ वर्षीय कपिलदेव ठाकुरको काम पनि थपिन्छ।
कपिलदेव एम्बुलेन्स चालक हुन्। उनी २५ वर्षदेखि नेपाल रेडक्रस सोसाइटी जनकपुरधामको एम्बुलेन्स चलाइरहेका छन्।
यी २५ वर्षमा जब-जब संकट आयो तब-तब उनी दौडिए। कहिले रोगीहरू, कहिले दैवी प्रकोप, आगलागी, दुर्घटनाजस्ता घटनाका पीडितलाई गाडीमा हालेर अस्पताल हुँइकिए।
यसरी एम्बुलेन्स हुँइकाउँदाहुँइकाउँदै उनी कोरोना महामारीको समयमा आइपुगेका छन्। आफूले बोकेर हिँडेका बिरामीसँग डराउनु पर्ने यस्तो अवस्था उनले पहिला कहिल्यै भोगेका थिएनन्।
‘दिनहुँ म कोरोनाका बिरामी बोकेर हिँड्छु। जो रोगी छ त्यसैसँग डराउनु पर्ने,’ उनले भने, ‘आफू उसँग डरायो अरू आफैंसँग डराउँछन्।’
परिवारसँग पनि उनको दूरी बढेको छ।
‘तीन छोराछोरी छन्। श्रीमती र अति मिल्ने साथीभाइसँग पनि दूरदूर बस्नुपरेको छ,’ उनले भने।
धनुषामा पहिलो कोरोना संक्रमित मिथिला नगरपालिकामै भेटिएका थिए। वडा नम्बर १० मा त्यतिबेला दिल्लीबाट आएकी एकजना महिलामा कोरोना पुष्टि भएको भयो।
ती संक्रमितलाई अस्पताल लिन जान रेडक्रसका सभापतिले कपिलदेवलाई अह्राए। उनले भने घरमा श्रीमतीलाई फोन गरे।
‘म कोरोना संक्रमित ल्याउन जाँदैछु,’ उनले यत्ति भनेका थिए श्रीमती रून थालिन्।
नजाऊ भनेर हत्ते हालिन्। तर बिरामी बोक्नु त उनको कामै थियो। उनले एम्बुलेन्सलेको स्टेरिङ समाए। ३० किलोमिटरको बाटोमा गुडिरहँदा उनलाई लगभग ३० चोटिभन्दा बढी श्रीमतीको फोन आएको थियो।
‘त्यो दिन त आफू युद्ध लड्न जाँदैछुजस्तै लाग्यो,’ उनले भने।
आफ्नो श्रीमानलाई कोरोना लाग्छ की भनेर डराएकी उनकी श्रीमती अहिले भने सामान्य भएकी छन्। श्रीमतीले सहजै उनको काम बुझेपछि आफूलाई पनि सजिलो भएको कपिलदेवले बताए।
‘सुरूमा कोरोना संक्रमित ल्याउन जाँदैछुभन्दा तपाईं किन जानु पर्यो
प्रकाशित मिति June 24, 2020