कोरोनाबाट ज्यान गुमाएका पुरुषको शव ब्यबस्थापन गर्न लाग्दा पोखरामा अबरोध, ८ राउण्ड हवाई फायर

सूचना दैनिक
बिहिबार, असार ११, २०७७

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तर्साउन पोखरामा प्रहरीले हवाई फायर गरेको छ।

संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको थियो।

पोखरा ३२ मा मजुवामा सेतीनदी किनारनजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए। स्थानीयले आफ्नो गाउँठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोडसमेत गरेका छन्। सशस्त्रको गाडीको सिसा फुटेको छ। प्रहरीले ८ जनालाई नियन्त्रणमा पनि लिएको छ।

डोजरले खाडल खन्न लागेको मेसो पाएपछि स्थानीयले विरोध गरेका थिए । प्रहरी र स्थानीय युवाबीच झडप पनि भएको पोखरा–३२ का एक जनप्रतिनिधिले बताए ।

स्थानीय युवा तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाइ फायर गरेका थियो । ८ राउण्ड हवाई फायर भएको कास्की प्रहरीका प्रवक्त डिएसपी सुवास हमालले जानकारी दिए ।

उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो ।

डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जा वालिङ ३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।

पहिलो मृतकको शव व्यवस्थापन गर्दा पनि पोखरामा प्रहरी र स्थानीय बीच झडप भएको थियो । प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएपछि त्यतिबेला प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको थियो ।

प्रदेश सरकारले बनाएको कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी कार्यविधिमा स्थानीय तहसँगको सहकार्य र समन्वयमा प्रशासनले शव व्यवस्थापन गर्ने उल्लेख छ। शव व्यवस्थापनमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिन्छन्।