श्रीलंकामा एमसीसीबारे अध्ययन गर्न बनेको समितिले निकाल्यो यस्तो निष्कर्ष, नेपालीले पनि बुझ्नुपर्ने

सूचना दैनिक
आइतवार, असार १४, २०७७

काठमाडौं । अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रति श्रीलंकामा असहमति देखिएको छ । नेपालमा समेत एमसीसी पारित गर्ने या नगर्ने भन्ने बहस भइरहेका बेला श्रीलंकामा एमसीसी अध्ययन गर्न बनेको समितिले सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

अध्ययन समितिले श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेलाई बिहीवार साँझ प्रतिवेदन पेश गरेको थियो । समितिले एमसीसी कार्यान्वयन गर्ने देशहरुको वर्तमान अवस्था दुःखलाग्दो भएको बताएको छ । श्रीलंकाका राष्ट्रपतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत निर्देशन दिएका छन् । श्रीलंकामा एमसीसी सम्झौता पूर्व सरकारका पालामा गरिएको थियो । पछि राजनीतिक विरोध सिर्जना भएपछि एमसीसी तत्काल कार्यान्वयन गरिएको थिएन ।

एमसीसीबारे अध्ययन गर्न बनेको सरकारले ६ महिना लगाएर थप अध्ययन गरेको थियो । प्रतिवेदन बुझाउँदै समितिका प्रमुख ललिथासिरी गुनारुवानले एमसीसी सम्झौता कार्यान्वयन गरिए देशका लागि दुखःद हुने भन्दै चेतावनी समेत दिएका थिए ।

यता नेपालमा के हुदैछ ?

अनुदानको नाममा सरकारले ल्याउने तयारी गरिरहेको अमेरिकाको निहित स्वार्थसँग जोडिएको एमसीसी सम्झौता खारेजीको माग राख्दै नेकपा (माओवादी केन्द्र) सहितका राजनीतिक दलहरु, देशभक्त नागरिक, सामाजिक अभियन्ताहरुले देशव्यापी विरोध गरिरहेको अवस्थामा एमसीसी खारेजीको वहस सत्ताँरुढ नेकपाको बैठकमा समेत पुगेको छ ।

यसरी बाहिर सडकबाट आम देशभक्त नागरिक, राजनीतिक दलहरुले र आन्तरिक रुपमा सत्ताँधारी कित्ताबाटै एमसीसी सम्झौता लगाएत सरकारका जनविरोधी, राष्ट्रविरोधी गतिविधिहरुको विरोध भैरहेको अवस्थामा एमसीसी पाश हुने सम्भावना तत्कालको लागि टरेको छ ।सरकारलाई एमसीसी बजेट कार्यान्वयन इकाई ‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसिए नेपाल) ले उक्त एमसीसी सम्झौता संसदबाट यहि अषाढ १६ गतेभित्र पाश गराइसक्नुपर्ने खालको समय सिमा दिएको भएपनि आगामि संसद बैठक १७ अषाढमा मात्र बस्ने तय गरिएकाले ओली सरकारको प्रस्ताव तत्कालका लागि पाश नहुने प्रष्ट देखिन्छ ।