के राजु सदाको परिवारले न्याय पाउला ? ‘डेढ धुर’ जमिनमा झुपडीमै परिवारको बिचल्ली !

सूचना दैनिक
आइतवार, असार १४, २०७७

जनकपुरधाम, १४ असार । अस्पतालकै लापरवाहीको कारण एक किशोरले ज्यान गुमाए ! डाक्टरले समयमा ध्यान दिएको भए बच्न सक्थे उनी ! प्रादेशिक अस्पतालले जीवनजलसम्म नदिएपछि घरबाट नै जीवनजल पठाउने गरिन्थ्याे… !

अब के होला ? राजुले न्याय पाउछ त ! उसकाे परिवारलाइ राज्यले हेर्ला त ? यी यावत सवालहरु अहिले मधेशको चिया र पान पसलमा चर्को रुपमा सुनिएका छन् ।

लापरवाहीका कारण उपचार नपाएर अस्पतालमै छटपटाउँदै प्राण त्यागेका धनुषाका राजु सदाको परिवारमा पीड़ा थपिएको छ । भएको डेढ़ धुर जग्गमा एउटा फुसको झुपड़ी छ र पाँचजना परिवार त्यसै झुपड़ीमा बसेर दिन काट्ने गर्छन् अहिले ।

सदा परिवारको आर्थिक अवस्था दयनीय रहेकोले प्लाष्टिक प्रयोग गरेर झुपड़ी अगाडि सुत्ने ठाउँ बनाइएको छ । आर्थिक रुपमा अति विपन्न राजु सदाको बुवा अशेश्वर सदासहित उनको परिवार अहिले बिचल्लीमा परेको छ । वर्षातको बेला प्लास्टिकको झुपडीमा गुजारा गर्न बाध्य सदा परिवारमा पीड़ामाथि झनै बज्रपात भएकाे छ ।

अस्पतालमा तड्पी-तड्पी मृत्युवरण भएको राजु घरको जेठाे सन्तान थिए । घरको जेठो छोराको मृत्यु भएपछि घर-परिवार अपाङ्गजस्तै भएको राजुका हजुरबुबा वयोवृद्ध सुकना सदाले न्यूज २४ लाई बताउनुभयो ।

घर बनाउन र परिवारलाई सहयोग गर्न नै भारतमा मजदूरी गर्न राजु आफ्नै गाउँका काका पर्नेसँग गएको सुकना सदाले बताउनुभयाे । मृतक राजुको घरमा आमाबुबा, तीन बहिनी र हजुरबुबा गरी कुल ५ जना सदस्यहरु छन् ।

स-सना छोरीहरुलाई फुसको घरमा र आफूहरु बाहिर प्लास्टिकको सहयोगले बनेको मचानमै रात बिताएर गुजारा गर्दै आएका सदा परिवारलाई हेरिदिने कोही छैन ।

राजुको ऊपचारमै अहिलेसम्म १० हजारभन्दा बढ़ी खर्च भइसकेको आमा नीलम सदाले न्यूज २४ लाई बताउनुभयो, ‘हामीलाई हेरिदिने कोही छैन कसरी किरिया कर्म गर्ने ?’ सदा परिवार हंसहपुर ७ परसाहीको सरकारी ऐलानी जग्गामा डेढ़ धुर जति घडेरी फुसको झुपडी घरमा गुजारा गर्दै आएका छन् ।

घर सानो झुपडी भएकोले सुत्न बस्न र खाना बनाउनसमेत ठाउँ पुग्दैन । घरको आँगनमा प्लाष्टिकको झुपडी र एउटा मचान (खाट) बनाएर सुत्ने गरिएको छ ।

जेठ १४ गते भारतबाट नेपाल आएका राजु सदा आउनेबित्तिकै गाउकै क्वारेन्टाइनमा पुगेका थिए । क्वारेन्टाइनमा छोरो बिरामी भएको थाहा पाएपछि आमा नीलमले गाउँका सबै नेताहरुसँग गुहार मागिन् तर कसैले पनि सुनुवाइ नगरेको पीडा राजुकी आमासँग छ ।