ओली-प्रचण्डबीच फेरी तनाव सुरु, स्थायी समिति बैठकमा कटाक्ष हानाहान, कसले के भने ?

सूचना दैनिक
आइतवार, असार १४, २०७७

 

काठमाडौँ । नेकपाका अध्यक्षद्वयलाई थाहा छ, आफूहरूबीच गहिरो समस्या छ । तर उनीहरूले त्यो समस्याको जड आफैं हो भन्ने स्वीकार्न नसक्दा एकीकृत पार्टीभित्रको मतभेद झन बढ्दै गइरहेको छ । एकअर्काविरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरिवरी यसले पार नलाग्ने भयो भन्ने सोचेर फेरि मिलनबिन्दु पहिल्याउने अध्यक्षद्वयको सहमति उनीहरूकै व्यवहार र शैलीले भंग गरिदिएको छ । बिनु सुवेदिले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन ।

बैठकमा अध्यक्षद्वयले मन्तव्यको अधिकांश समय एकअर्कासँग गुनासो गरेरै बिताए । पुराना सहमति, समझदारी तथा पार्टी र सरकारका काम सम्झिए, आपसमा समन्वय नहुँदा पार्टी र सरकार झन ओरालो लागिरहेको बताए । प्रधानमन्त्री ओली, उनको मन्त्रिपरिषद्का सदस्यहरू र उनीनिकट मानिने नेताहरूबाहेकले सरकारका काम र त्यसको तौरतरिकालाई रुचाएका छैनन् ।

सरकार गठन भएयताका साढे दुई वर्ष प्रधानमन्त्री ओली र उनीवरिपरिका केही व्यक्तिको तजबिजमा मात्रै सरकार चलिरहेको र त्यसले पार्टी र सरकार दुवैको बदनाम भइरहेको गुनासो नेकपाभित्रै छ । स्थायी कमिटीको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका कामको फेहरिस्त सुनाउँदा वरिष्ठ नेता माधव नेपालले हस्तक्षेप गरेर भने, ‘सरकारले धेरै काम गरेको छ भनेर बखान नगरे हुन्छ, सडकका खाल्डाखुल्डी हेर्ने हो भने मेरै निर्वाचन क्षेत्र साँखुमा जाँदा हुन्छ ।’

ओली नेतृत्वको सरकार गठन भएयता पार्टीको सल्लाहबिनै सरकार चलाएको, एकलौटी निर्णय गरेको र केही व्यापारिक घरानासँग विवादास्पद साँठगाँठ गरेको लगायत विषयमा पार्टीभित्रै र बाहिरबाट पनि व्यापक आलोचना भइरहेको छ ।

पछिल्लोपटक स्वाथ्य सामग्री खरिदमा नेपाली सेनाको संलग्नता, स्वास्थ्य सेवा विभागले स्वास्थ्य उपकरण ल्याउँदा विवादास्पद ओम्नी कम्पनीलाई दिएको ठेक्का, यति समूहसँग सरकारको निकटतालगायत विषयले सरकारको विवादास्पद छवि उजागर गरेको टिप्पणी नेकपाभित्रै छ । यिनै कुरालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारका बारेमा पार्टीभित्रैबाट गलत प्रचार गरिएको गुनासो गरेका हुन् ।