भारतसंगको सिमा विवाद ओझेलमा पार्न कांग्रेसले चीनसँगको सीमा विवाद उठायो – भीम रावल (भिडियो)

सूचना दैनिक
मङ्लबार, असार १६, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य डा‍. भीम रावलले भारतले मिचेको भूमि समेटेर नेपालले नक्सा जारी गरेपछि त्यसलाई ओझेलमा पार्ने षड्यन्त्र स्वरुप चीनसँगको सीमा विवादको कुरा उठाइएको बताउनु भएको छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै नेता रावलले नेपालले भारतले अतिक्रमण गरेको भूमि छोड्नुपर्छ र त्यहाँ तैनाथ सुरक्षाफौज फिर्ता लैजानुपर्छ भनेपछि नेपालीको ध्यान अन्तै मोड्ने दुस्प्रयास गरिएको बताउनुभयो ।

नेपाली का‌ंग्रेसका तीन जना सांसदले चीनले पनि नेपाली भूमि मिचेको भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेपछि रावलको यस्तो प्रतिकृया आएको हो । भारतसँगको वार्ता प्रकृयालाई अवरुद्ध पार्न र विषयवस्तुलाई अन्तै मोड्न कांग्रेसका केही नेताले चीनसँग सिमा विवादको कुरा उठाएको उहाँको भनाइ छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीको प्रसंगमा एमसीसी अध्ययन कार्यदलका सदस्यसमेत रहेका नेता रावलले आफूहरुलाई अध्ययन नै नगरी जथाभावी आलोचना गरेको भनेर प्रधानमन्त्रीले गरेको टिप्पणीको पनि प्रतिवाद गर्नु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अघि राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै पार्टीभित्रैका केही नेताले अध्ययन नै नगरी एमसीसीको विरोध गरेको बताउनु भएको थियो ।

नेता रावलले हिजोको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष उपस्थित नहुनुको कारण आजको बैठकमा खोज्ने बताउनुभयो