अल्पआयुमै अस्ताए वीरमान ! सेनाले दियो अन्तिम सलामी…

आइतबार निधन भएका उसु खेलाडी वीरमान वाइबाको पार्थिव शरीर सोमबार अन्तिम श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा राखियो।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका खेलाडी, प्रशिक्षकलगायतले उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेपाली सेनाले श्रद्धाञ्जली सभामा अन्तिम सलामी दिएको थियो। वीरमान नेपाली सेनाको उसु टिममा आबद्ध थिए।

उनले सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागीता जनाउन गएका थिए। तर उनले खेल्न पाएनन्। त्यसअघि उनले राखेप च्याम्पियनसिपमा पदक जितेका थिए ।

वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो। शनिबार राति सुतेका उनी आइतबार विहान मृत अवस्थामा भेटिएका थिए।

२०५० सालमा जन्मिएका वीरमान उसु खेल्नु अघि क्योकुसिन करातेका खेलाडी थिए। उनको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासंघले जनाएको छ।

प्रकाशित मिति June 30, 2020

प्रतिकृया दिनुहोस